भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत माग पूरा गराउन भदौ महिनादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।

महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको हो। परिषद् बैठकले यस सम्बन्धमा १५ बुँदे निर्णयसमेत सार्वजनिक गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार विगतदेखि उठाउँदै आएका मागसँगै समसामयिक शैक्षिक तथा पेसागत मुद्दाहरूलाई समेटेर आन्दोलन अघि बढाउने निर्णय गरिएको हो।

आन्दोलनको मिति, स्वरूप र कार्यक्रम तय गर्ने अधिकार परिषद्ले विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजन गरेको महासंघले जनाएको छ।

महासंघले शिक्षकका माग सम्बोधनका लागि सरकारसँग पुनः गम्भीर संवाद र सहमतिको वातावरण बनाउन आग्रह गर्दै आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जनाएको छ।