

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म हुने राष्ट्रिय भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिए।
उनका अनुसार स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवा साउन २६ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। स्वदेश फर्किएपछि उनी राष्ट्रिय भेलामा सहभागी हुनेछन्।
पत्रकार सम्मेलनमा देउवाको स्वदेश फर्किने क्रममा राज्यको तर्फबाट कुनै प्रकारको धरपकड भए त्यसको कडा विरोध गरिने चेतावनी पनि दिइयो।
यस विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कोइरालाले भने, “उहाँमाथि धरपकड भए विरोध गर्छौं।”
जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री देउवा हाल श्रीमती आरजु राणासहित हङकङमा रहेका छन्। उनी साउन २६ गते साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको उनका निकट नेताहरूले बताएका छन्।