बीपी कोइरालाको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार

बीपी कोइरालाको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको बजेट अस्वीकार गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आर्थिक वर्ष २०८३/८४ को बजेटमा विराटनगर महानगरपालिका–७, कोसी अस्पताल चोकस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ छुट्याइएको थियो।

यसका लागि सरकारप्रति आभार व्यक्त गर्दै नेता कोइरालाले उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्।

जारी विज्ञप्तिमा उनले देशका धेरै नागरिक अभाव, वञ्चना र विभिन्न कठिनाइमा जीवन बिताइरहेका बेला सीमित सरकारी स्रोत र साधन उनीहरूको जीवनस्तर सुधारमा खर्च हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले भनेका छन्, “राज्यसामु आम नागरिक जो वञ्चना, अभाव र अनेकौँ कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्ने मेरो विश्वास छ। त्यसैले विराटनगर–७, कोसी अस्पताल चोकस्थित कोइराला निवासको मर्मत तथा सम्भारका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।”

शेखर कोइरालाको यो निर्णयलाई सार्वजनिक खर्चको प्राथमिकतासम्बन्धी आफ्नो धारणा र नैतिक अडानका रूपमा हेरिएको छ।