नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले साउन ७ र ८ गते सञ्चालन गरेको स्नातकोत्तर तह (पीजी) विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार ३६ विषयमा आयोजित परीक्षामा १ हजार १३ जना चिकित्सक सहभागी भएका थिए। तीमध्ये ६५ जना अनुत्तीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार नेपालका सरकारी मेडिकल कलेजबाट अध्ययन गरेका चिकित्सकको उत्तीर्ण दर उल्लेखनीय रहेको छ। उनका अनुसार नेपालका मेडिकल कलेजबाट स्नातकोत्तर अध्ययन गरेका ९१९ जनामध्ये केवल १५ जना मात्र अनुत्तीर्ण भएका छन्।

डा. पाण्डेका अनुसार महाराजगञ्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा वीर अस्पताललगायत सरकारी शिक्षण संस्थाबाट अध्ययन गरेका चिकित्सकको सहभागिता धेरै भएकाले समग्र उत्तीर्ण दर पनि उच्च देखिएको हो।

विदेशमा अध्ययन गरेका चिकित्सकको उत्तीर्ण दर कम

काउन्सिलका तथ्यांकअनुसार विदेशबाट चिकित्सा शिक्षा हासिल गरेका चिकित्सकमध्ये अनुत्तीर्ण हुनेको संख्या तुलनात्मक रूपमा बढी रहेको छ।

बेलारुस, चीन, इजिप्ट, भारत, किर्गिस्तान, पाकिस्तान, फिलिपिन्स र अमेरिकालगायत देशबाट अध्ययन गरेका ९४ जना चिकित्सक परीक्षामा सहभागी भएका थिए। तीमध्ये ५० जना अनुत्तीर्ण भएका छन्।

देशअनुसारको विवरण यस्तो छः

  • चीनबाट अध्ययन गरेका ३७ जनामध्ये ८ जना मात्र उत्तीर्ण भए।
  • इजिप्टबाट अध्ययन गरेका १९ जनामध्ये ११ जना उत्तीर्ण भए।
  • भारतबाट अध्ययन गरेका १९ जनामध्ये १५ जना उत्तीर्ण र ४ जना अनुत्तीर्ण भए।
  • पाकिस्तानबाट अध्ययन गरेका ९ जना सबै उत्तीर्ण भए।
  • फिलिपिन्सबाट अध्ययन गरेका ५ जनामध्ये २ जना उत्तीर्ण भए।

नेपालमा चिकित्सकीय अभ्यास (प्राक्टिस) गर्न चिकित्सा शिक्षा पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गर्नु अनिवार्य हुन्छ। काउन्सिलले हरेक वर्ष दुई पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।