मनिष झाको टिप्पणी : सरकारमाथि कुनै शंका छैन, अब कालो चस्मा पनि हटाउनुपर्छ

मनिष झाको टिप्पणी : सरकारमाथि कुनै शंका छैन, अब कालो चस्मा पनि हटाउनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारप्रति कुनै शंका नभए पनि राज्य सञ्चालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान र लोकतन्त्रको मूल मर्मअनुसार राज्य सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले भने, “सरकारमाथि कुनै शंका छैन, कुनै प्रश्न पनि छैन। तर कताकता सञ्चालनको ढङ्ग नपुगेको जस्तो लाग्छ। नेतृत्वले आफूलाई के थाहा छैन भन्ने कुरा पनि बुझ्नुपर्छ। त्यसैले राज्य सञ्चालनको शैली सुधार गर्न आवश्यक छ।”

सांसद झाले शिक्षित समाजबिनाको राजनीति र लोकतन्त्र दिगो हुन नसक्ने धारणा राखे। लोकतन्त्र कमजोर भए सामाजिक सन्तुलन बिग्रने, सामाजिक न्याय कमजोर हुने र त्यसले अन्ततः विकास र समृद्धिलाई असर गर्ने उनले बताए।

मधेशको पछिल्लो अवस्थाबारे बोल्दै उनले तत्कालको तनाव साम्य भए पनि समस्या पूर्ण रूपमा समाधान नभएको टिप्पणी गरे।

“मधेशमा आगो निभेको हो, तर दाउरा निभेको छैन,” उनले भने, “त्यसैले सरकार सचेत हुनुपर्छ। सीमाक्षेत्रमा २५ रुपैयाँको चिप्ससमेत खोसिन्छ, तर विमानस्थलबाट ब्लु लेबल र ल्यापटप ल्याउन छुट दिइन्छ। यस्तो असन्तुलित व्यवहार उचित होइन।”

उनले मधेशको सीमाक्षेत्रमा सामान्य वस्तुमा कडाइ गरिने तर अन्य क्षेत्रमा फरक मापदण्ड अपनाइने गरेको भन्दै सरकारले समान र सन्तुलित नीति अवलम्बन गर्नुपर्ने बताए।

निर्वाचित जनप्रतिनिधि जनतासँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिँदै उनले “हामीले गाडीको कालो सिसा हटायौँ, अब कालो चस्मा पनि हटाउनुपर्छ,” भन्दै जनताको वास्तविक अवस्था बुझ्ने नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

सांसद झाले निजी क्षेत्र सरकारको धरपकडबाट त्रसित भएको पनि बताए। प्रहरी देख्दा नागरिकले सुरक्षा महसुस गर्नुपर्ने भए पनि अहिले व्यवसायीहरू कुनै बेला छापा पर्ने वा धरपकड हुने हो भन्ने चिन्तामा रहेको उनको भनाइ थियो।