

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको थियो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी बढेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ कायम भएको छ। प्रतिशेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ।
बैंकको चुक्ता पूँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्म बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) भने केही बढेर ४.९६ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो ४.८६ प्रतिशत रहेको थियो।