

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। मंगलबारको गिरावटपछि यस दिन नेप्से ४.७९ अंकले बढेर २,६६७.९७ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ०.६० अंकले घट्दा फ्लोट इन्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले घटेका छन्।
कारोबार रकम पनि बढेको छ। ३५० कम्पनीका १ करोड ६७ हजार कित्ताभन्दा बढी शेयर ६१ हजार २८६ पटक किनबेच हुँदा कुल ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन यो रकम ४ अर्ब ७ करोड रुपैयाँ थियो।
यस दिन सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको शेयर मूल्य ८७ रुपैयाँ ७० पैसा बढेर ६७२ रुपैयाँ ७० पैसा पुगेको छ। यता, लगातार १२ कारोबार दिनसम्म सकारात्मक सर्किट लागेको एभरेष्ट कलरको शेयर भने यस दिन ९.०३ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावटमा रह्यो।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ५८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसपछि रिडी पावर कम्पनीको करिब ३५ करोड रुपैयाँ र खानीखोला हाइड्रोपावर कम्पनीको २७ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये ५ उपसमूह हरियालीमा बन्द हुँदा ८ उपसमूहमा गिरावट देखियो। व्यापार उपसमूह सर्वाधिक १.६० प्रतिशतले बढेको छ भने जलविद्युत उपसमूह करिब ४.५ प्रतिशतले उकालो लागेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा पनि सामान्य वृद्धि देखिएको छ।