

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, निक्षेप, कर्जा विस्तार र वितरणयोग्य मुनाफालगायत अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ।
सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी पनि १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २५.२२ प्रतिशतले वृद्धि भई ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ। खराब कर्जामा आएको सुधारले बैंकको नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुगेको वित्तीय विवरणले देखाएको छ।
नियामकीय समायोजनपछि बैंकले ४ अर्ब ६९ करोड रुपैयाँ खुद वितरणयोग्य मुनाफा कायम गरेको छ। अघिल्लो वर्षको सञ्चित नाफासहित कुल वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर वितरणयोग्य मुनाफा १९ रुपैयाँ १० पैसा पुगेकाले आगामी वार्षिक साधारणसभाबाट आकर्षक लाभांश वितरण गर्ने आधार बलियो बनेको विश्लेषण गरिएको छ।
बैंकको ग्राहक निक्षेप १२.९५ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति पनि १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
हाल बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ, जसमा ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार शेयरसमेत समावेश छ। सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ।
बैंकले खराब कर्जा (एनपीएल) ४.२० प्रतिशत मा सीमित राख्न सफल भएको छ भने नेट एनपीएल ०.५८ प्रतिशत कायम रहेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ३६ पैसा पुगेको छ। घट्दो खराब कर्जा, बढ्दो नाफा र बलियो वितरणयोग्य मुनाफाका आधारमा आगामी दिनमा शेयरधनीले आकर्षक प्रतिफल प्राप्त गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।