

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा यांकी उक्याबलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्याबको नियुक्तिबारे जानकारी दिएका हुन्।
विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ उक्याबले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट जननीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा कार्यअनुभव हासिल गरेकी छन्।
यसअघि उनले लगानी बोर्ड नेपालमा वित्त तथा लगानीसम्बन्धी महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन्। साथै, नेपाल इकोनोमिक फोरमसँग आबद्ध रहेर आर्थिक नीति, लगानी र विकाससम्बन्धी अध्ययन तथा नीतिगत लेखनमा पनि सक्रिय योगदान दिएकी छन्।