

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र सम्भावित विभाजन रोक्ने उद्देश्यले तेस्रो धारका युवा नेताहरूको सक्रियतामा आज विशेष भेला हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी भेन्युमा बिहान ११ बजेदेखि सुरु हुने भेलामा नैनसिंह महर, रञ्जित कर्णलगायत तेस्रो धारका युवा नेताहरूको सहभागिता रहने जनाइएको छ।
शेरबहादुर देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गर्ने घोषणा गरिसकेको र संस्थापन पक्षले साउन २४ गते केन्द्रीय समिति बैठक बोलाएको सन्दर्भमा पार्टीभित्रको ध्रुवीकरण रोक्न यो भेला आयोजना गरिएको आयोजक पक्षको भनाइ छ।
तेस्रो धारले चार दिनअघि ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेला गर्ने जानकारी दिएको थियो। अभियानमार्फत पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गर्दै संगठनलाई वैचारिक र सांगठनिक रूपमा सुदृढ बनाउने लक्ष्य राखिएको नेता नैनसिंह महरले बताएका छन्।
महरका अनुसार पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बन्दै गएको निष्कर्षसहित कांग्रेसलाई एकताबद्ध र सशक्त बनाउन अभियान अघि बढाइएको हो।