

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच तराई–मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा गृहमन्त्री गुरुङले तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर फर्किएकाले त्यहाँको वस्तुस्थितिबारे विस्तृत ब्रिफिङ गरिएको बताइएको छ।
भेटमा पछिल्ला घटनापछि सुरक्षा अवस्था सामान्य बनाउन अपनाइएका कदम तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुरक्षा रणनीतिबारे पनि सामान्य छलफल भएको जनाइएको छ।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादपछि झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो। त्यसपछि तनाव अन्य जिल्लामा फैलिँदा सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो।
तनाव नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको थियो। प्रधानमन्त्री र गृहमन्त्रीबीच सोही घटनाक्रमपछिको समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको स्रोतले जनाएको छ।