

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवाका लागि सरकार अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)सँग निरन्तर संवादमा रहेको बताएका छन्।
मंगलबार सञ्चारकर्मीसँगको छलफलमा मन्त्री पोखरेलले मन्त्रालयको तर्फबाट फिफासँग इमेलमार्फत नियमित संवाद भइरहेको र समस्या समाधानतर्फ सकारात्मक पहल भइरहेको जानकारी दिए।
उनले बाहिरबाट हेर्दा सरकारले कुनै पहल नगरेजस्तो देखिए पनि फिफासँग निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै आगामी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपाली टोलीले गुमाउन नपरोस् भन्ने लक्ष्यका साथ काम भइरहेको बताए। खेलाडीको प्रतियोगितामा सहभागी हुने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मन्त्री पोखरेलले आगामी एन्फा नेतृत्व फुटबलबारे ज्ञान र अनुभव भएको व्यक्तिको हातमा जानुपर्ने धारणा पनि व्यक्त गरे।
उनले वर्तमान सरकारले खेल क्षेत्रका केही लामो समयदेखि रोकिएका काम छोटो अवधिमै सम्पन्न गरेको दाबी गर्दै चार महिनाको अवधिमा खेलाडीहरूका लागि १० करोड रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताए। अघिल्ला सरकारले घोषणा गरेका पुरस्कार लामो समयसम्म वितरण हुन नसकेको अवस्थामा वर्तमान सरकारले त्यसलाई कार्यान्वयनमा ल्याएको उनको भनाइ थियो।
यस्तै, आगामी एसियन गेम्समा सहभागी हुने नेपाली खेलाडीहरूलाई यसपटक अतिरिक्त खर्चको व्यवस्था गरेर पठाइने निर्णयसमेत गरिएको मन्त्री पोखरेलले जानकारी दिए।