फाइनलअघि न्यूयोर्कमा मेसीको क्रेज, ब्रेडीदेखि जोकोभिचसम्म सेल्फी खिच्न उत्साहित

फाइनलअघि न्यूयोर्कमा मेसीको क्रेज, ब्रेडीदेखि जोकोभिचसम्म सेल्फी खिच्न उत्साहित

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फेरि एकपटक आफ्नो विश्वव्यापी लोकप्रियताको प्रमाण दिएका छन्। न्यूयोर्कमा आयोजित फ्यानाटिक्स फेस्टमा अमेरिकी फुटबलका महान् टम ब्रेडी, टेनिस स्टार नोभाक जोकोभिच र बास्केटबल सुपरस्टार केभिन डुरान्टलगायत विश्वप्रसिद्ध खेलाडीहरू मेसीसँग सेल्फी खिच्न उत्साहित देखिए।

आइतबार न्यु जर्सीको इस्ट रदरफोर्डमा हुने विश्वकप फाइनलमा अर्जेन्टिनाले स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विश्वभर करिब १.५ अर्ब दर्शकले यो खेल हेर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै मेसीले भने, ‘हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर खेल्नेछौं।’

यसपटक फिफाले विश्वकप फाइनलअघिको परम्परागत पत्रकार सम्मेलनलाई न्यूयोर्कमा चार दिनसम्म सञ्चालन भएको फ्यानाटिक्स फेस्टसँग जोडेको थियो। कार्यक्रममा खेलाडी, प्रशिक्षक र विभिन्न खेलका चर्चित व्यक्तित्व एउटै मञ्चमा उपस्थित हुँदा सयौं समर्थकले मेसीलाई प्रत्यक्ष भेट्ने अवसर पाए।

रोड्रीको प्रशंसा : ‘मेसी सर्वकालीन महान्’

स्पेनका कप्तान रोड्रीले मेसीको खुलेर प्रशंसा गर्दै भने, ‘मेसी खेलाडीका रूपमा मात्र होइन, अर्जेन्टिनाका लागि पनि शब्दमा बयान गर्न नसकिने व्यक्तित्व हुन्। मेरो नजरमा उनी सर्वकालीन महान् खेलाडी हुन्।’

पत्रकार होइन, सुपरस्टारले सोधे प्रश्न

यसपटक पत्रकारहरूको सट्टा विश्व खेलकुदका चर्चित हस्तीहरूले खेलाडी र प्रशिक्षकसँग प्रश्न सोध्ने नयाँ शैली अपनाइएको थियो।

टम ब्रेडीले सामाजिक सञ्जालमा भाइरल बनेको एउटा तस्बिरबारे प्रश्न गर्दा मेसीले बाल्यकालका लामिन यामाललाई नुहाइरहेको तस्बिर सम्झँदै हाँस्दै प्रतिक्रिया दिए, ‘कस्तो अविश्वसनीय तस्बिर।’

नोभाक जोकोभिचले मेसी र अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीसँग ठूलो खेलको दबाब कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रश्न गरे। कुराकानीपछि उनले स्पेनिस भाषामा ‘ग्रासियास, लियो’ भन्दै मेसीलाई धन्यवाद दिएका थिए।

त्यसपछि जोकोभिचले स्पेनका प्रशिक्षक लुइस दे ला फुन्टे र कप्तान रोड्रीसँग पनि ठूला खेलमा मानसिक रूपमा कसरी शान्त रहने भन्ने विषयमा जिज्ञासा राखे। उता केभिन डुरान्टले अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजसँग लगातार दोस्रो विश्वकप जित्नुको महत्वबारे प्रश्न गरेका थिए।

फाइनलअघि आत्मविश्वासी अर्जेन्टिना

मुख्य प्रशिक्षक स्कालोनीले विश्वकप फाइनललाई सामान्य खेलसरह लिन खोजिरहेको बताए।

‘यो अर्को एउटा खेल मात्र हो। हामी विश्वकप फाइनल भन्ने कुरा धेरै सोच्न चाहँदैनौं,’ उनले भने।

अर्जेन्टिना अपराजित रहँदै फाइनल पुगे पनि उसको यात्रा सहज भने थिएन। सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध दोस्रो हाफमा १–० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै २–१ को जित निकालेको थियो। अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेपछि पनि टोलीले उत्कृष्ट पुनरागमन गरेको थियो।

मेसीले टोलीको लडाकु मानसिकताको प्रशंसा गर्दै भने, ‘मैले धेरै पटक भनेको छु, हामी कहिल्यै लड्न छोड्दैनौं।’

मेसीको स्वागतमा दर्शकको उत्साह

मेसी मञ्चमा प्रवेश गर्दा समर्थकहरू तालीभन्दा बढी मोबाइल फोनमार्फत त्यो क्षण कैद गर्न व्यस्त देखिए। उनले मुस्कुराउँदै हात हल्लाएपछि हलभरि उपस्थित दर्शकको उत्साह गुञ्जिएको थियो।

कार्यक्रमको अन्त्यमा मेसी, दुवै टोलीका खेलाडी तथा प्रशिक्षक, अभिनेता तथा हास्यकलाकार केभिन हार्ट, र्‍यापर ट्राभिस स्कट, इंग्ल्यान्डका पूर्वकप्तान रियो फर्डिनान्ड र फ्यानाटिक्सका प्रमुख कार्यकारी अधिकृत माइकल रुबिनसहित सबैले समर्थकलाई पृष्ठभूमिमा राखेर सामूहिक सेल्फी खिचाएका थिए।

कार्यक्रमबाट बाहिरिने क्रममा मेसीले विश्वकप ट्रफी राखिएको बाकसतर्फ केहीबेर नजर लगाएको दृश्यले समर्थकहरूको ध्यान खिचेको थियो।

यदि अर्जेन्टिनाले स्पेनलाई पराजित गर्दै उपाधि जित्न सफल भयो भने सन् १९५८ र १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो राष्ट्र बन्नेछ। साथै मेसीले आफ्नो गौरवशाली करियरमा अर्को ऐतिहासिक उपलब्धि थप्नेछन्।

गोलकिपर एमिलियानो मार्टिनेजले भने, ‘हामीसँग उत्कृष्ट खेलाडी र प्रशिक्षकको समूह छ। मेसीसहित हामी सबैले विश्वकप फेरि अर्जेन्टिनामा ल्याउन शतप्रतिशत दिनेछौं।’