

काठमाडौं । नेपालले इन्डोनेसियामाथि नौ विकेटको सहज जित निकाल्दै एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो स्थान हासिल गरेको छ। शनिबार मलेसियाको बायोमास ओभलमा भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट मात्र गुमाएर पूरा गर्यो।
नेपालका लागि सान प्रविनले अविजित २५ रन बनाए भने सावित्री धामीले २४ रनको योगदान दिइन्। करुणा विष्ट १६ रनमा अविजित रहिन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो। इन्डोनेसियाका डर्नी रम्बु बन्गीले सर्वाधिक ३४ रन बनाइन् भने नी पटु डेवीले ११ रन जोडिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा केवल सात रन खर्चेर चार विकेट लिइन्। अनु कडायतले दुई विकेट हात पारिन् भने रचना कुमारी चौधरी, तिर्सना विश्वकर्मा र कप्तान सोनी पाख्रिनले समान एक–एक विकेट लिए।
यसअघि सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको थियो भने इन्डोनेसिया थाइल्यान्डसँग हार बेहोरेको थियो। तेस्रो स्थानको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले प्रतियोगिता जितका साथ टुंग्याएको हो।