९ घण्टापछि मिटरब्याजपीडितसँग सहमति, अब ‘आर्थिक अपराध’, फर्जी तमसुक स्वतः खारेज हुने

९ घण्टापछि मिटरब्याजपीडितसँग सहमति, अब ‘आर्थिक अपराध’, फर्जी तमसुक स्वतः खारेज हुने

काठमाडौं। लामो समयदेखि आन्दोलनमा रहेका मिटरब्याजपीडित र सरकारबीच अन्ततः ९ बुँदे ऐतिहासिक सहमति भएको छ। प्रधानमन्त्री कार्यालयमा करिब ९ घण्टा चलेको वार्तापछि सरकारी पक्ष र पीडित पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

मुख्य सहमति के-के?

सबैभन्दा ठूलो निर्णयअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजानेछ। यो निर्णय लागू भएमा फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र दबाबमा गराइएका चेकहरू स्वतः अवैध र खारेज हुनेछन्।

विशेष ऐन र छुट्टै न्यायाधिकरण

गृह मन्त्रालयले ३ महिनाभित्र मिटरब्याज नियन्त्रणसम्बन्धी विशेष विधेयक तयार गर्नेछ। नयाँ ऐनमा छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी समावेश गरिनेछ।

यी काम अब सीधा अपराध

नयाँ कानुनले वास्तविकभन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई साँवामा जोड्ने, खाली चेकमा जबर्जस्ती सही गराउने, धम्क्याउने, मानसिक वा शारीरिक शोषण गर्ने र सम्पत्ति हत्याउने कामलाई स्पष्ट रूपमा अपराध मानेर कडा कारबाही गर्नेछ।

फरेन्सिक जाँच र मनी लाउन्डरिङ छानबिन

सरकारले मिटरब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फरेन्सिक परीक्षण, सम्पत्तिको स्रोत खोजी र मनी लाउन्डरिङ अन्तर्गत छानबिन गर्ने व्यवस्था पनि गरेको छ।

उजुरी फछ्र्यौटको नयाँ संरचना

केन्द्रमा प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन हुनेछ भने जिल्लामा पीडित प्रतिनिधिसहित सहजीकरण समिति बनाएर ६ महिनाभित्र सबै उजुरी फछ्र्यौट गर्ने लक्ष्य राखिएको छ।

आन्दोलन स्थगित

सहमतिको अर्को महत्वपूर्ण बुँदा भनेको पीडितलाई पुनः मिटरब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमार्फत राहत र आर्थिक सहायता प्याकेज ल्याउने प्रतिबद्धता हो। यही सहमतिसँगै मिटरब्याजपीडितहरूले आफ्ना आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।

यो सहमतिलाई नेपालमा मिटरब्याजविरुद्धको संघर्षमा निर्णायक मोड का रूपमा हेरिएको छ।