सबल कम्पनीको सेयर धितोमा अब ८० प्रतिशतसम्म कर्जा पाइने

सबल कम्पनीको सेयर धितोमा अब ८० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबल कम्पनीहरूको सेयर धितोमा अब मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था लागू गरेको छ। यसअघि सबै सूचीकृत कम्पनीका सेयरमा अधिकतम ७० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाइने व्यवस्था थियो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्दै जारी गरेको निर्देशनअनुसार कम्पनीको वित्तीय तथा संस्थागत सबलताको मूल्याङ्कनका आधारमा थप १० प्रतिशत बिन्दुसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको हो।

हाल धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयर धितोमा मार्जिन प्रकृतिको कर्जा दिँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रकाशित गरेको पछिल्ला १८० कार्यदिनको अन्तिम मूल्यको औसत वा हालको बजार मूल्य मध्ये जुन कम हुन्छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाइन्छ।

अब भने बैंक तथा वित्तीय संस्थाले कम्पनीको सबलता मूल्याङ्कनका आधारमा तयार गरिएको प्रडक्ट पेपर अनुसार उच्च मूल्याङ्कन प्राप्त कम्पनीको सेयरमा अधिकतम ८० प्रतिशतसम्म कर्जा दिन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार कम्पनीको सबलता मूल्याङ्कन गर्दा निम्न पक्षलाई आधार बनाइनेछः

  • चुक्ता पुँजीको आकार,
  • नेप्सेमा सूचीकृत भएको अवधि,
  • नाफा तथा लाभांश वितरणको इतिहास,
  • क्रेडिट रेटिङ,
  • नियामकीय व्यवस्थाको पालना,
  • नियमित रूपमा साधारणसभा सम्पन्न गरेको अवस्था लगायतका सूचक।

यस्तो कर्जा योजना सम्बन्धी प्रडक्ट पेपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

यद्यपि, एकपटक कर्जा प्रवाह गरिसकेपछि धितोमा रहेको सेयरको पुनर्मूल्याङ्कन गरेर थप कर्जा सीमा बढाउन वा अतिरिक्त कर्जा उपलब्ध गराउन भने नपाइने राष्ट्र बैंकले स्पष्ट गरेको छ।