सेयर बजारमा सामान्य सुधार, नेप्से ६.११ अंकले बढ्यो

सेयर बजारमा सामान्य सुधार, नेप्से ६.११ अंकले बढ्यो

काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकभन्दा बढीले घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २,५७६.११ बिन्दुमा पुगेको हो।

कारोबारको सुरुवाती समयमा बजार दबाबमा देखिएको थियो। दिउँसो १२ः१० बजे नेप्से २,५४७ अंकसम्म झरे पनि त्यसपछि सुधार हुँदै अन्ततः हरियो अंकमा बन्द भएको हो। सोमबार नेप्से २,५७० अंकमा झरेको थियो, जुन गत मंसिर ४ यताकै न्यून स्तर थियो।

बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँको कारोबार भयो। यो कारोबार रकम करिब तीन महिनायताकै उच्च हो। यसअघि वैशाख ३ गते ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो।

आज १६४ कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत परिसूचकमध्ये अधिकांश समूह हरियो रहे। व्यापार समूह सबैभन्दा धेरै १.४७ प्रतिशतले बढ्यो। बैंकिङ ०.०९, विकास बैंक ०.२९, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.०८, जलविद्युत् ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२० तथा अन्य समूह ०.१५ प्रतिशतले उकालो लागे। उत्पादन तथा प्रशोधन समूह भने ०.१८ प्रतिशतले घट्यो।

व्यक्तिगत कम्पनीतर्फ उपकार लघुवित्तको शेयर मूल्य ९.१९ प्रतिशत र भगवती हाइड्रोपावरको ५.७७ प्रतिशतले बढ्यो। यस्तै, सामुदायिक लघुवित्तको मूल्य ८.१० प्रतिशत, स्वाबलम्बन लघुवित्तको ४.४७ प्रतिशत तथा सुपर खुदी हाइड्रोपावरको ३.६५ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा मंगलबार पनि डिबेन्चर (ऋणपत्र) हरू नै अग्रस्थानमा रहे। कुमारी बैंक डिबेन्चर ९०, एनआईएमबी डिबेन्चर ९०, एसबीआई डिबेन्चर ९०, एभरेस्ट बैंक डिबेन्चर ९१ तथा कृषि विकास बैंक डिबेन्चर ८३ मा सबैभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ।