ओलीको स्पष्ट सन्देश: ‘हट्नुपरे हट्छौँ, तर तीन दल मिलेर सरकार चलोस्’

ओलीको स्पष्ट सन्देश: ‘हट्नुपरे हट्छौँ, तर तीन दल मिलेर सरकार चलोस्’

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारमा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तीनवटै दल मिलेर सरकार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन्। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रदेश सरकारको विषयमा दलहरूबीच संवाद जारी रहेको बताए।

एमाले प्रदेश सरकारबाट बाहिरिने अवस्था आएको हो भन्ने प्रश्नमा ओलीले भने, “त्यो त भइसकेको छैन। हट्नुपर्‍यो भने हट्ने नि।”

कांग्रेस र माओवादीबीच प्रदेश सरकार सञ्चालनका लागि सहमति भइसकेको भन्ने विषयमा आफूलाई जानकारी नभएको पनि उनले बताए। ओलीले फेरि दोहोर्‍याउँदै भने, “हामीले तीनवटै पार्टी मिलेर जानुपर्छ भनिरहेका छौँ। यदि हट्नुपर्ने अवस्था आयो भने त्यसका लागि पनि तयार छौँ।”

ओलीको यो अभिव्यक्तिसँगै प्रदेश सरकारको नयाँ राजनीतिक समीकरणबारे चर्चा थप चुलिएको छ भने आगामी दिनमा सत्ता गठबन्धनको स्वरूप कस्तो बन्छ भन्ने चासो बढेको छ।