

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा नेकपा एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको छ। बुधबार विराटनगरमा बसेको कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको गठबन्धनलाई निरन्तरता नदिने निष्कर्ष निकालेको हो।
कोशी प्रदेश कांग्रेसका सभापति उद्धव थापाका अनुसार एमालेसँगको सत्ता सहकार्य समाप्त गर्ने निर्णय भए पनि सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउने विषयमा भने अन्तिम निर्णय भएको छैन।
बैठककै क्रममा पार्टीका शीर्ष नेताहरूसँग टेलिफोन संवाद भएपछि मन्त्री फिर्ताबारे निर्णय स्थगित गरिएको थापाले बताए। उनका अनुसार केन्द्रबाट औपचारिक निर्देशन आएपछि मात्रै सरकारमा सहभागी मन्त्रीहरूको भविष्यबारे निर्णय गरिनेछ।
एमालेसँगको गठबन्धन अन्त्य गर्ने निर्णयसँगै कांग्रेसले आगामी राजनीतिक रणनीतिका लागि तीन सम्भावित विकल्प पनि अघि सारेको छ।
पहिलो, केन्द्रमा एमालेसँग पुनः सहकार्यको वातावरण बने त्यसलाई निरन्तरता दिने। दोस्रो, सहकार्य पूर्ण रूपमा अन्त्य भए नेकपा तथा अन्य साना दलसँग मिलेर नयाँ सरकार गठन गर्ने। तेस्रो, यी दुवै विकल्प सम्भव नभए कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा बस्ने।
हाल कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी छन्। उनीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।
यद्यपि, स्रोतका अनुसार सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले तत्काल पद नछाड्ने अडान लिएका कारण कार्यदलले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गर्न सकेको छैन। अब केन्द्रको निर्देशनपछि मात्रै कोशी प्रदेश सरकारको आगामी राजनीतिक समीकरणबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।