

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै एमाले कुनै पनि परिस्थितिमा आफ्नै बलमा अघि बढ्ने बताएका छन्।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश सरकारमा नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएको प्रसङ्गलाई संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले एमाले अरूको सहारामा टिक्ने दल नभई आफ्नै शक्ति र जनआधारमा स्थापित राजनीतिक शक्ति भएको उल्लेख गरे।
‘हामीलाई एक्ल्याउने प्रयास भइरहेका छन्। तर हामी अर्काको सहारामा मात्र उभिन सक्ने लहरो होइनौँ। हामी एउटा स्वतन्त्र वृक्ष हौँ। अरूको बलमा उम्रिएका पनि होइनौँ। अनेकौँ आँधी, हुरी र तुफानको सामना गरेर यहाँसम्म आइपुगेका छौँ। हामी कसैलाई समातेर मात्र उभिन सक्ने त्यान्द्रो होइनौँ,’ ओलीले भने।
अध्यक्ष ओलीले एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौतीहरूको सामना गर्दै आएको स्मरण गराउँदै अब पनि आफ्नै खुट्टामा उभिएर सबै चुनौती पार गर्ने विश्वास व्यक्त गरे।
उनले एमाले परिस्थितिबाट डराउने वा आत्तिने पार्टी नभएको उल्लेख गर्दै संगठन र जनताको बलमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए।