

बुटवल । कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
कपिलवस्तु जिल्ला अदालतले बिहीबार कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको कुटपिट घटनामा अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
उक्त घटनामा सांसद शाह संलग्न रहेको आरोपसहित उनीविरुद्ध जाहेरी दर्ता भएपछि कानुनी प्रक्रिया अघि बढाइएको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
पीडित पक्षका अनुसार प्रतिनिधिसभा सदस्य शाह, कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित १५–२० जनाको समूहले उनीहरूको निवासमा प्रवेश गरी सामूहिक रूपमा कुटपिट गरेको थियो।
यसअघि आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले आलटाल गरेको भन्दै पीडित पक्षले असन्तुष्टि जनाउँदै आएको थियो। अब अदालतबाट पक्राउ अनुमति जारी भएसँगै घटनाको अनुसन्धान थप अघि बढ्ने भएको छ।