

काठमाडौं । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी जनसाधारणसम्म पुर्याएका भानुभक्तले नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनाको विकासमा ऐतिहासिक योगदान दिएका छन्। उनले रचना गरेको रामायण आज पनि नेपाली समाजमा श्रद्धापूर्वक पाठ गर्ने परम्परा कायम छ।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त घाँसीसँगको प्रेरणादायी भेटपछि नेपाली भाषामा साहित्य सिर्जनातर्फ अग्रसर भएको जनविश्वास छ। वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला र रामगीता उनका चर्चित कृतिहरू हुन्।
भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत राष्ट्रिय एकता, पहिचान र नेपालीपनलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
उनको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानसहित विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले माल्यार्पण, प्रभातफेरी, रामायण वाचन र विशेष कार्यक्रम आयोजना गरेका छन्। नेपालसँगै भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका विभिन्न देश र क्षेत्रमा पनि भानु जयन्ती श्रद्धापूर्वक मनाइँदै छ।