

काठमाडाैं । कविता कृति ‘नरहरि महर्जनका कविताहरू’ एक समारोहवीच लोकार्पण गरिएको छ । भूगोल साहित्य समाजद्वारा प्रकाशित उक्त कृति कीर्तिपुरमा आयोजित एक समारोह बीच माघ ३ गते विहान लोकार्पण गरिएको हो ।
भूतपूर्व राज्यमन्त्री दिलिप महर्जनको सभापतित्वमा आयोजित सो कार्यक्रममा, कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथि हुनुहुन्थ्यो भने कीर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, राबाबैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापा, पाँगा माविका निर्देशक रामेशमान महर्जन विशेष अतिथि रहनुभएको थियो ।
सभापतिको आसनबाट बोल्दै पूर्व राज्यमन्त्री महर्जनले कवि महर्जनले लामो समय देखि साहित्य सिर्जना गर्नुभए पनि अहिले यो उमेरमा आएर कृति प्रकाशित गर्नु साहित्यमा रुचि राख्ने सबैका लागि खुसी र प्रेरणाको कुरा हो भन्नुभयो । साथै उहाँले बैंक सेवाबाट निवृत्त भएका कर्मचारीले संस्थाको स्थापना गरी साहित्य सेवा गरेको थाहा पाउँदा आफूलाई खुशी लागेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख श्री डंगोल तथा विशेष अतिथि उपप्रमुख श्री शाक्यले विकाश भनेको सडक विस्तार, भवन निर्माण वा त्यस्तै किसिमका कार्यहरू मात्र नभई भाषा, साहित्य, कला, संस्कृति जस्ता क्षेत्रको विकास समेत हो भन्दै यिनलाई सँगसँगै लैजानु पर्ने बताउनु भयो । यसका साथै त्यस्ता क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाका लागि पालिकाले सहयोग गर्दे आएको र गर्दै जाने कुरा पनि उहाँहरूले बताउनुभयो । विशेष अतिथि भूगोल साहित्य समाजका अध्यक्ष नेपालले कीर्तिपुर जस्तो ऐतिहासिक–सांस्कृतिक नगरीमा स्थानीय जनप्रतिनिधिहरू समेतको उपस्थितिमा यस्तो कार्यक्रम आयोजना गर्न पाउनु समाजका लागि खुशीको कुरा भएको र यसबाट समाज र कीर्तिपुरबासी वीच नयाँ सम्बन्ध स्थापना भएको बताउनुभयो ।
दिनेश विक्रम थापाले विमोचित कृतिको समीक्षा गर्नुभएको सो कार्यक्रममा आगन्तुक तथा अतिथिहरूको स्वागत एवम् कवि महर्जनको लेखन र समग्र परिचय दिने काम मदन डंगोलले गर्नुभएको थियो । नरहरि महर्जनले लेखकीय मन्तव्यसँगै आफ्नो एक कविता वाचन गर्नुभएको कार्यक्रममा शालिकराम महर्जनले आफ्नो कविता वाचन गर्नुभएको थियो भने कृति भित्रको कविता शैलेन्द्र कुमार शाहले समेत वाचन गर्नुभएको थियो ।
स्थानीय एवम् शुभेच्छुक जनहरूको ठूलो उपस्थिति रहेको कार्यक्रममा भूगोल साहित्य समाजका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । कीर्तिपुर स्थित पाँगा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमको सञ्चालन सम्झना महर्जन र शैलेन्द्रकुमार शाहले गर्नुभएको थियो ।