

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका व्यक्तिविरुद्ध प्रमाणसहित उजुरी आह्वान गरेको छ।
समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका उम्मेदवारको नियुक्ति उपयुक्त नभएको ठोस आधार, प्रमाण वा सूचना भए १० दिनभित्र उजुरी दर्ता गर्न आग्रह गरेको हो।
सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा सिफारिस गरिएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्ले विरुद्ध नेपाली वा अंग्रेजी भाषामा प्रमाणसहित उजुरी दिन सकिनेछ।
उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, सम्पर्क नम्बर र जिल्ला स्पष्ट खुलाउनुपर्नेछ। साथै, दाबी पुष्टि गर्ने आधार र प्रमाणका कागजातको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ।
उजुरी सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा सिधै बुझाउन वा जिल्ला प्रशासन कार्यालयमार्फत कुनै दस्तुर नतिरी पठाउन सकिने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री बालेन साहको अध्यक्षतामा असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले तीनै जनाको नियुक्तिका लागि सिफारिस गरेको थियो।