

काठमाडौं । आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका काठमाडौंको बुद्धनगरका व्यवसायी आश्विन राउतको शनिबार उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार गम्भीर अवस्थामा वीर अस्पतालमा उपचाररत राउतको अपराह्न मृत्यु भएको हो। उनको शरीरमा गम्भीर जलन भएको थियो।
प्रहरीका अनुसार शनिबार बिहान आफ्नै घरमा भएको घटनापछि राउतलाई उद्धार गरी वीर अस्पताल लगिएको थियो। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, पछिल्ला केही दिनयता गम्भीर जलनका घटनाहरू बढेका छन्। मुगुका गणेश नेपालीको पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो भने सर्लाहीका विवेक मण्डल गम्भीर अवस्थामा काठमाडौंमा उपचाररत छन्।
यदि तपाईं वा तपाईंले चिन्ने कोही व्यक्ति गम्भीर मानसिक तनावमा हुनुहुन्छ वा आफूलाई हानि पुर्याउने विचार आइरहेको छ भने, एक्लै नबस्नुहोस्। विश्वासिलो परिवारका सदस्य, साथी वा स्वास्थ्यकर्मीसँग तुरुन्त कुरा गर्नुहोस् र आवश्यक परे नजिकको अस्पताल वा आपत्कालीन सेवाबाट तत्काल सहयोग लिनुहोस्।