काभ्रेमा बर्डफ्लु संक्रमण फैलियो, ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट

काभ्रेमा बर्डफ्लु संक्रमण फैलियो, ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा बर्डफ्लु संक्रमण फैलिँदै गएपछि हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही सातायता संक्रमणका कारण व्यावसायिक पोल्ट्री फार्ममा कुखुरा धमाधम मर्न थालेपछि बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का प्रभावित फार्मबाट ४० हजार ७२९ हाँस तथा कुखुरा नष्ट गरिएको हो।

कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार मरेका हाँस–कुखुरालाई खोला, झाडी तथा खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण कागसहित अन्य जंगली चरामार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

संक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा कुखुरा ओसारपसारमा निगरानी कडा पारिएको उनले बताए। तर प्रयोगशालाबाट परीक्षणको नतिजा ढिलो आउने समस्याका कारण प्रदेश र स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमणदर बढ्दै गएको उनको भनाइ छ।

डा. ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेका छन्। उनका अनुसार खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने, प्रवेश गर्नैपरे सुरक्षाका उपाय अपनाउने, खोर तथा उपकरण नियमित रूपमा सफा गर्ने र कुखुरा ओसारपसार गर्दा सरसफाइका सबै मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ।

जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा कुखुरा ओसारपसार हुन नदिन निगरानी र नियन्त्रणसमेत कडा बनाइएको कार्यालयले जनाएको छ।

यसअघि गत चैतमै देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण देखिएपछि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो।