

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर धान रोपाइँ, हिलो खेल्ने र दही–चिउरा खाने परम्परासहित मनाइँदै छ।कृषिप्रधान नेपालमा असार १५ लाई धान रोपाइँको विशेष दिनका रूपमा लिने गरिन्छ। किसानहरू खेतमा धान रोप्दै असारे भाकाका गीत गाउने, हिलो खेल्ने र दही–चिउरा खाएर श्रमको थकान मेटाउने परम्परा रहिआएको छ। खेतीपातीमा संलग्न नभएका नेपालीहरूले पनि आजको दिन दही–चिउरा खाएर पर्व मनाउने चलन छ।
नेपाली संस्कृतिमा दहीलाई शुभ र पवित्र मानिन्छ। शुभ कार्यका लागि घरबाट निस्कँदा दही सगुनका रूपमा खाने तथा दही–अक्षता लगाउने परम्परा आज पनि कायम छ। धार्मिक विश्वाससँगै वैज्ञानिक रूपमा पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ। यसले पाचन प्रणाली सुधार्नुका साथै शरीरलाई शीतलता र ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ।
आयुर्वेदमा समेत भोजनपछि मोही सेवन गर्नुलाई स्वास्थ्यका लागि लाभदायक मानिएको छ। पखालालगायत केही स्वास्थ्य समस्यामा दही–चिउराले औषधीय गुणसमेत प्रदान गर्ने विश्वास रहेको छ।
नेपालमा राष्ट्रिय धान दिवस विसं २०६२ सालदेखि मनाउन थालिएको हो। विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने व्यवस्था गरिएको थियो।
असार महिना किसानका लागि वर्षभरको खाद्यान्न उत्पादनको आधार तयार गर्ने महत्वपूर्ण समय हो। यस अवसरमा खेतमा ‘असारे भाका’ गाउने, हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्पराले ग्रामीण जीवनलाई अझ जीवन्त बनाउने गरेको छ।
तर, यस वर्ष असारको मध्यसम्म पनि देशभर पर्याप्त वर्षा नभएका कारण अपेक्षित मात्रामा धान रोपाइँ हुन सकेको छैन। केही स्थानमा रासायनिक मलको अभाव भएको किसानहरूको गुनासो रहे पनि कृषि, वन तथा वातावरण मन्त्रालयले आवश्यक परिमाणमा रासायनिक मल मौज्दात रहेको जनाएको छ।