त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले भोलि (असार १५ गते) देखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपीडी सेवा पुनः सञ्चालन गर्ने भएको छ। अस्पतालले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपीडी सेवा मात्रै पुनः सुरु गरिने जनाएको हो।

अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बिमाअन्तर्गत ओपीडी टिकट वितरणका लागि निश्चित समय तोकिएको छ। सेवाग्राहीले बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म स्वास्थ्य बिमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।

अस्पतालले स्वास्थ्य बिमासम्बन्धी थप जानकारी वा कुनै समस्या परेमा स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेको छ। स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी नपाएको भन्दै शिक्षण अस्पतालले गत माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको थियो। करिब छ महिनापछि अस्पतालले बिमा कार्यक्रमअन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा ल्याउन लागेको हो।