

काठमाडौं । नेपाल चिया उत्पादक संघले झापा र इलामका बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। साथै यसअघि घोषणा गरिएका बन्दका कार्यक्रम पनि स्थगन गरिएको छ। भारततर्फ नेपाली चिया निर्यातमा देखिएको व्यापारिक तथा प्राविधिक समस्याका कारण उद्योगहरू बन्द गरिएका थिए। तर सरकारले समस्या समाधानका लागि पहल थालेपछि उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको संघले जनाएको छ।
संघद्वारा जारी विज्ञप्तिमा चिया क्षेत्रका समस्या समाधान, किसानका गुनासा सम्बोधन तथा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि सरकारले गठन गरेको कार्यदलप्रति सकारात्मक दृष्टिकोण राखिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानले भोगिरहेका समस्याको पहिचान गर्न तथा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि सरकारले गठन गरेको कार्यदललाई हामीले सकारात्मक रूपमा लिएका छौँ। सरकारको पहललाई सम्मान गर्दै चिया उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।”
भारतीय चिया बोर्डले लागू गरेको नयाँ कार्यविधि (एसओपी) का कारण नेपाली चियाको निर्यात प्रक्रियामा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले उद्योग बन्द गरेका थिए।
यसैबीच सरकारले असार ८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो। उक्त कार्यदललाई चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी समाधानका उपाय सुझाउने जिम्मेवारी दिइएको छ। नेपाल चिया उत्पादक संघले सरकारको पहल, कार्यदल गठन तथा किसान र मजदुरको हितलाई मध्यनजर गर्दै उद्योगहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ।