स्थायी व्यवस्थापन नभए पुरानै बस्तीमा फर्किने सुकुम्वासीको चेतावनी

स्थायी व्यवस्थापन नभए पुरानै बस्तीमा फर्किने सुकुम्वासीको चेतावनी

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संगको होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी व्यवस्थापन नगरी हटाउन खोजिए पुरानै बसोबास क्षेत्रमा फर्किने चेतावनी दिएका छन्।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आफूहरूलाई बसोबास गरिरहेको स्थानबाट हटाएको दुई महिना बितिसक्दा पनि सरकारले स्थायी आवासको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

सरकारले गत वैशाख १२ गतेदेखि काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान थालेको थियो। त्यसबेला प्रभावित परिवारलाई १५ दिनका लागि अस्थायी आश्रयस्थलमा राख्ने र ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको थियो।

तर, निर्धारित समय बितिसक्दा पनि स्थायी व्यवस्थापनको ठोस पहल नभएको सुकुम्वासीहरूको गुनासो छ। उल्टै जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार ९ गते सूचना जारी गर्दै असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको उनीहरूको भनाइ छ।

सूचनामा प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराइने र त्यसपछि बसोबासको व्यवस्था आफैंले गर्नुपर्ने उल्लेख गरिएको छ। सुकुम्वासीहरूले उक्त निर्णयलाई अव्यावहारिक र अन्यायपूर्ण भन्दै विरोध जनाएका छन्।

उनीहरूले पाँच बुँदे मागसमेत सार्वजनिक गरेका छन्। मागपत्रमा सुकुम्वासी परिवारहरूको लगत संकलन तथा प्रमाणीकरण गर्न, जबर्जस्ती विस्थापित परिवारलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्न, स्थायी समाधान नभएसम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा–सुविधासहित बसोबासको व्यवस्था गर्न तथा दीर्घकालीन आवास समाधान सुनिश्चित गर्न आग्रह गरिएको छ।

सुकुम्वासीहरूले आफ्नो माग सम्बोधन नगरी कुनै वैकल्पिक व्यवस्था बिना होल्डिङ सेन्टरबाट हटाउन खोजिए पुरानै बसोबास क्षेत्रमा फर्केर बस्न बाध्य हुने चेतावनी दिएका छन्।