

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि घटेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि ओरालो लागेको बजारमा यस दिन नेप्से ८.५० अंकले घट्दै २६५१.५२ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले घट्दा फ्लोट इन्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले ओरालो लागेको छ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३३८ कम्पनीका ६४ लाख ८० हजार कित्ता शेयर ४६ हजार ७५१ पटक किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ।
यस दिन पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावर को शेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्था को शेयर मूल्य करिब १३ प्रतिशत तथा सप्तकोशी डेभलपमेन्ट बैंक को शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
उता, भुजुङ्ग हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन्। उक्त कम्पनीको शेयर मूल्य ११.०३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको १२ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स को १२ करोड रुपैयाँभन्दा बढी तथा सप्तकोशी डेभलपमेन्ट बैंक को १० करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य सबै उपसमूह राताम्मे बने। उत्पादन तथा प्रशोधन समूह सामान्य रूपमा बढ्दा व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ। लगातारको गिरावट र कारोबार रकममा आएको कमीले लगानीकर्ताको उत्साह कमजोर बन्दै गएको संकेत गरेको बजार विश्लेषकहरू बताउँछन्।