

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। प्रदेश अर्थ मन्त्रालयका अनुसार यस अवधिमा आन्तरिक तथा संघीय बाँडफाँटबाट प्राप्त राजस्वसहित उक्त रकम संकलन भएको हो।
मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाका अनुसार हालसम्म प्रदेशको आन्तरिक राजस्व संकलन ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार रुपैयाँ पुगेको छ। आन्तरिक राजस्वका प्रमुख स्रोत घरजग्गा रजिस्ट्रेशन तथा सवारीसाधन कर रहेका छन्।
११ महिनाको अवधिमा घरजग्गा रजिस्ट्रेशनबाट १ अर्ब १८ करोड १२ लाख ९५ हजार रुपैयाँ तथा सवारीसाधन करबाट २ अर्ब १ करोड ५० लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी, सवारी चालक अनुमतिपत्र वितरण र सवारी दर्ता दस्तुरबाट ६८ करोड ८२ लाख ७० हजार, यातायात क्षेत्रबाट ११ करोड १० लाख ५९ हजार तथा ढुंगा, गिट्टी, बालुवालगायत दहत्तर–बहत्तरको बिक्रीबाट १० करोड ९ लाख ३५ हजार रुपैयाँ आम्दानी भएको मन्त्रालयले जनाएको छ।
संघीय सरकारबाट बाँडफाँट हुने राजस्वअन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) बापत ७ अर्ब ७५ करोड ६४ लाख ९९ हजार तथा अन्तःशुल्क करबापत २ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ।
यस्तै, संघीय सरकारबाट समानीकरण अनुदानअन्तर्गत ७ अर्ब ६ करोड १६ लाख ७८ हजार, सशर्त चालु अनुदान २ अर्ब १७ करोड २७ लाख ७२ हजार तथा सशर्त पुँजीगत अनुदान १ अर्ब ५६ करोड ३० लाख ४० हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तता, घरजग्गा तथा नयाँ सवारीसाधनको कारोबारमा कमी तथा गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा राजस्व संकलन गर्ने सरकारी निकायमा पुगेको क्षतिका कारण अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको हो।