

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित अन्तरिम शान्ति सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ। फ्रान्सको इभियन-लेस-बेन्समा आयोजित जी-७ शिखर सम्मेलनको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसउद पेजेस्कियानले छुट्टाछुट्टै रूपमा सम्झौतामा हस्ताक्षर गरेका हुन्। ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटका क्रममा कागजातमा हस्ताक्षर गरेका थिए भने इरानका राष्ट्रपतिले इलेक्ट्रोनिक माध्यमबाट सहमति जनाएका थिए।
सम्झौता हस्ताक्षरसँगै यो तुरुन्तै कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ। उक्त सम्झौताले इरान–अमेरिका तनावसँगै लेबनानमा देखिएको द्वन्द्व अन्त्य गर्ने, होर्मुज स्ट्रेट पुनः सञ्चालनमा ल्याउने तथा अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्ने व्यवस्था गरेको छ।
१४ बुँदे सम्झौतामा इरानले आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ। साथै, युद्धपछिको पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने प्रावधान पनि राखिएको छ, जसमा अमेरिकी योगदान अनिवार्य नरहेको उल्लेख छ। सम्झौता मूलतः जुन १९ मा जेनेभानजिकै लुसर्नमा औपचारिक रूपमा हस्ताक्षर गर्ने तय भए पनि निर्धारित समयभन्दा एक दिनअघि नै प्रक्रिया सम्पन्न गरिएको हो।