

काठमाडौं । भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले सहकारी बैंकहरूबाट सीमान्त किसानहरूले लिएको ५० हजार भारतीय रुपैयाँसम्मको बाली ऋण माफ गर्ने घोषणा गरेका छन् ।
सोमबार मुख्यमन्त्री विजयले सहकारी बैंकबाट बाली ऋण लिएका अन्य किसानहरूलाई पनि पाँच हजार रुपैयाँ राहत दिने घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तमिलनाडु मुख्यमन्त्री कार्यालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत उक्त निर्णयबारे जानकारी सार्वजनिक गरेको हो । सचिवालयमा मुख्यमन्त्रीको अध्यक्षतामा बसेको समीक्षा बैठकपछि यो घोषणा गरिएको बताइएको छ ।
बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर. विनोथ, सहकारी मन्त्री वी. गान्धीराज, वित्त मन्त्री एन. मेरी विल्सन तथा अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । सरकारका अनुसार मुख्यमन्त्री विजयको निर्णयबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन् । यसका लागि थप २ हजार ४४.४६ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
मुख्यमन्त्रीको घोषणापछि किसानहरू उत्साहित भएका छन् भने किसान नेताहरूले पनि निर्णयको स्वागत गरेका छन् । तमिलनाडु सरकारले योजना कार्यान्वयनका लागि चाँडै विस्तृत कार्यविधि सार्वजनिक गर्ने जनाएको छ ।