साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुंगा-नौबिसे सुरुङमार्ग, शुल्कसमेत निर्धारण

साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुंगा-नौबिसे सुरुङमार्ग, शुल्कसमेत निर्धारण

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुंगा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन्। हाल आकस्मिक अवस्था व्यवस्थापन, उद्धार प्रणाली तथा सवारी सञ्चालनसम्बन्धी परीक्षण कार्य भइरहेको छ। सुरुङमार्ग बाहिर पहिरो नियन्त्रणसम्बन्धी केही काम मात्र बाँकी रहेको उनले बताए।

कुल २ हजार ६८८ मिटर लम्बाइको यो सुरुङमार्ग प्रारम्भिक सम्झौताअनुसार सन् २०२३ अप्रिलभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती तथा स्थानीय अवरोधका कारण निर्माण कार्य निर्धारित समयमा पूरा हुन सकेको थिएन।

आयोजनाले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक व्यवस्थापन अभ्यास तीव्र बनाएको छ। सुरुङमार्ग प्रयोगबापत लाग्ने दस्तुर संकलनका लागि बैंक छनोट, कार्ड छपाइ तथा भुक्तानी प्रणाली जडानलगायतका प्रक्रिया पनि अन्तिम चरणमा पुगेका छन्।

सवारी चालकले नगद, क्यूआर कोड स्क्यान तथा सवारीमा जडान गरिने स्टिकरलाई उच्च क्षमताको क्यामेराबाट रिड गरी शुल्क तिर्न सक्ने व्यवस्था मिलाइएको छ।

सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मेवारी पाँच वर्षका लागि युसिन एआरटी कम्पनीले पाएको छ। कम्पनीले एक अर्ब १० करोड रुपैयाँको लागतमा सेवा सञ्चालन गर्नेछ। सुरुङमार्गबाट संकलित दस्तुर सडक बोर्ड नेपालको खातामा जम्मा गरिनेछ।

सुरुङमार्ग चौबिसै घण्टा सञ्चालन हुनेछ। व्यवस्थापनका लागि करिब १५० जनशक्ति परिचालन गरिनेछ भने व्यस्त समयमा एकैपटक ४० जना कर्मचारी खटाइनेछन्।

आयोजनाका अनुसार नागढुंगा–नौबिसे नाका हुँदै दैनिक आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। दुईपांग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

सरकारले गत चैत २६ गते राजपत्रमार्फत सुरुङमार्ग प्रयोग शुल्क निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ।

मिनीबस तथा मिनी ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ। बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।

त्यस्तै, मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर लाग्ने व्यवस्था गरिएको छ। आयोजनाले असारभित्र सबै तयारी पूरा गरी साउनदेखि सुरुङमार्ग नियमित सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।