रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग काठमाडौंबाहेक सबै जिल्लामा फिर्ता

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग काठमाडौंबाहेक सबै जिल्लामा फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग काठमाडौंबाहेक अन्य सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले पनि संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन आदेश दिएको हो। जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीसम्बन्धी मुद्दालाई यथावत् राख्दै अन्य अभियोग फिर्ता लिन आदेश जारी गरेको अदालत स्रोतले जनाएको छ।

अदालतको उक्त आदेशसँगै रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेललगायत प्रतिवादीविरुद्ध लगाइएका सहकारी ठगीबाहेकका संगठित अपराधसम्बन्धी अभियोग रुपन्देहीमा समाप्त भएका छन्। यसअघि पर्सा र कास्की जिल्ला अदालतले पनि संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन आदेश दिएका थिए। कास्कीमा दायर गरिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत फिर्ता लिइएको थियो। अदालतहरूको पछिल्ला आदेशपछि लामिछानेविरुद्ध काठमाडौं बाहेकका जिल्लामा सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम रहेको अवस्था बनेको छ। काठमाडौंमा भने सम्बन्धित मुद्दाहरूको कानुनी प्रक्रिया अझै जारी छ।