

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा विषय नउठाइएको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले राष्ट्रहितका संवेदनशील विषयमा उदासीनता देखाएको आरोप लगाइन्। उनले “राष्ट्रवादलाई बिर्सेर न्यानो आतिथ्यमा रमाएको” भन्दै सरकारको कूटनीतिक शैलीप्रति कटाक्ष गरिन्।
उनले भनिन्, “हामीले सुन्यौँ, अतीतको बोझ बोक्न सक्दैनौँ भनेर रातो कार्पेटभित्र छोपिएको अभिव्यक्ति परराष्ट्रमन्त्रीले दिनुभयो। उहाँले समकक्षीसँग बस्दा इतिहासको बोझ बोक्न सक्दैनौँ भन्नुभयो। त्यसको अर्थ हाम्रो कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका अतिक्रमित भूमि सम्बन्धी नेपालको दाबी बोक्न सक्दैनौँ भन्न खोजिएको हो ?”
उनले सीमा क्षेत्रमा नेपाली भूमि रक्षाका लागि जनस्तरमा संघर्ष भइरहेका बेला सरकारले प्रभावकारी कदम नचालेको आरोप पनि लगाइन्। सांसद अर्यालले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसमेत दोहोर्याएकी छन्।