

काठमाडौँ । भारत ‘ए’ र श्रीलङ्का ‘ए’ बीच दाम्बुलामा सम्पन्न एकदिवसीय खेल सुपर ओभरपछि विवादमा तानिएको छ। खेल समाप्त भएपछि भारतका युवा ओपनर वैभव सूर्यवंशी र श्रीलङ्काली खेलाडीबीच मैदानमै तनावपूर्ण अवस्था सिर्जना भएको हो।
निर्धारित ५० ओभरको खेलमा भारत ‘ए’ ले प्रस्तुत गरेको २६५ रनको लक्ष्य श्रीलङ्का ‘ए’ ले अन्तिम ओभरमा पूरा गर्दै खेल बराबरीमा टुङ्ग्याएपछि नतिजा सुपर ओभरमार्फत तय गरिएको थियो। सुपर ओभरमा भारतका लागि वैभव सूर्यवंशी र सूर्यांश सेढगे ब्याटिङका लागि मैदानमा उत्रिएका थिए। अन्तिम तीन बल बाँकी रहँदा भारतलाई जितका लागि १४ रन आवश्यक थियो।
श्रीलङ्काका बलर कुगाथस मथुलानले पहिलो बल उत्कृष्ट यर्कर फ्याँक्दा सूर्यवंशीले दुई रन मात्र लिन सके। त्यसपछि दुई बलमा १२ रन आवश्यक रहेको अवस्थामा उनले लेग साइडतर्फ आएको बललाई चौकामा परिणत गरे। अन्तिम बलमा जितका लागि ठूलो प्रहार आवश्यक रहे पनि मथुलानको सटिक वाइड यर्करमा सूर्यवंशी रन बनाउन असफल भए र भारत ‘ए’ पराजित भयो।
खेल सकिएलगत्तै मैदानमा तनाव बढेको देखिएको थियो। प्रारम्भमा भारतका सूर्यांश सेढगे र केही श्रीलङ्काली खेलाडीबीच भनाभन भएको बताइएको छ। त्यसपछि सूर्यवंशी पनि विवादमा तानिएका थिए।
प्रत्यक्षदर्शी विवरणअनुसार आक्रोशित देखिएका सूर्यवंशीले एक श्रीलङ्काली खेलाडीलाई धकेलेका थिए। स्थिति थप तनावपूर्ण बन्न नदिन अन्य श्रीलङ्काली खेलाडी तथा मैदानमा रहेका व्यक्तिहरूले हस्तक्षेप गर्दै दुवै टोलीका खेलाडीलाई अलग गरेका थिए। घटनापछि खेल भावना र खेलाडीहरूको व्यवहारबारे सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। सम्बन्धित क्रिकेट निकायहरूले घटनाबारे औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेका छैनन्।