

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समान राजनीतिक विचार, सिद्धान्त र लक्ष्य भएका दलहरूलाई समेटेर ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठन गर्ने पहल थालेको छ। पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग मोर्चाबन्दी तथा सम्भावित राजनीतिक सहकार्यका लागि पहल गर्ने निर्णय गरेको जनाएको छ।
जनमत पार्टीले राजनीतिक रूपमा समान धारणा भएका दलहरूसँग पार्टी एकीकरण वा संयुक्त मोर्चा निर्माणको सम्भावना खोज्न औपचारिक वार्ता प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ। यसका लागि नरेन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कार्यदल गठन गरिएको पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।
गठित कार्यदलमा डा. जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य रहेका छन्। कार्यदललाई सम्बन्धित राजनीतिक दलहरूसँग संवाद, छलफल र सहकार्यका सम्भावनाबारे आवश्यक पहल गर्ने जिम्मेवारी दिइएको छ। जनमत पार्टीले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य, एकता र साझा राजनीतिक एजेन्डामार्फत देशमा नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यका साथ मोर्चा गठनको पहल गरिएको जनाएको छ।