लुम्बिनी प्रदेशका कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, अधिकृतस्तरभन्दा माथिकालाई यातायात भत्ता

लुम्बिनी प्रदेशका कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, अधिकृतस्तरभन्दा माथिकालाई यातायात भत्ता

देउखुरी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि प्रदेशका कर्मचारीहरूको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै संघीय सरकारले गरेको तलब वृद्धिअनुसार प्रदेशका कर्मचारीको पनि तलब बढाइने जानकारी दिएका हुन्।

मन्त्री कार्कीले संघीय तहका कर्मचारीको तलब वृद्धि भइसकेकाले प्रदेशका कर्मचारीको सेवा–सुविधामा समानता कायम गर्न तलब वृद्धि आवश्यक भएको बताए। बजेट वक्तव्यमा प्रदेश सरकारका कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले थप सुविधा पनि घोषणा गरिएको छ। उच्च तहका कर्मचारीलाई प्रदेशमा टिकाइराख्न अधिकृतस्तरभन्दा माथिका कर्मचारीलाई मासिक तीन हजार रुपैयाँ यातायात भत्ता उपलब्ध गराइने मन्त्री कार्कीले बताए।

प्रदेश सरकारले कर्मचारीको मनोबल उच्च राख्न, दक्ष जनशक्ति प्रदेशमै कायम राख्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन तलब वृद्धि र अतिरिक्त सुविधाको व्यवस्था गरिएको जनाएको छ। नयाँ व्यवस्थाअनुसार तलब वृद्धि र यातायात भत्ता आगामी आर्थिक वर्षदेखि लागू हुने जनाइएको छ।