

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले विनियोजन विधेयक प्रस्तुत गरेलगत्तै मन्त्रालयगत कार्यक्रम र बजेटका विस्तृत विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले अर्थमन्त्रीले विनियोजन विधेयक पेश गरेपछि मन्त्रालयगत कार्यक्रम तथा बजेटका सबै विवरण डिजिटल माध्यमबाट तत्काल उपलब्ध गराइने अपेक्षा गरेको बताए।
उनले युवा नेतृत्वको सरकारबाट सुशासन र पारदर्शिताको अभ्यास हुने विश्वास गरे पनि बजेटसम्बन्धी विवरण सार्वजनिक गर्न ढिलाइ गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे। बजेट भाषणअघि नै विनियोजन प्रक्रिया सम्पन्न हुने भएकाले आवश्यक सबै विवरण तयार अवस्थामा रहने भए पनि सांसदहरूले समयमै जानकारी नपाएको उनको भनाइ थियो।
दुलालले विनियोजन विधेयक संसद्मा पेश भएसँगै मन्त्रालय तथा निकायगत कार्यक्रम पुस्तिका सांसदहरूलाई उपलब्ध गराइनुपर्ने बताए। तर, कतिपय मन्त्रालयले हालसम्म पनि कार्यक्रम पुस्तिका उपलब्ध नगराएको भन्दै उनले प्रश्न उठाए।
‘किन १८ दिनसम्म पनि विस्तृत विवरण उपलब्ध हुँदैन ? आजसम्म पनि कतिपय मन्त्रालयका कार्यक्रम पुस्तिका आएका छैनन्। पर्याप्त अध्ययनबिनै संशोधन प्रस्ताव दर्ता गर्न र धारणा राख्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने।
उनले भोलिको छलफलमा पर्ने केही मन्त्रालयको बजेटसम्बन्धी पुस्तिकासमेत प्राप्त नभएको उल्लेख गर्दै कार्यक्रम पुस्तिका नपाइकनै खर्च कटौती प्रस्ताव दर्ता गर्न बाध्य भएको बताए।
दुलालले विनियोजन विधेयक पेश भइसकेपछि पनि मन्त्रालयहरूमा बजेट थपघट भइरहेको भन्ने चर्चा सुनिएको उल्लेख गर्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराए। ‘विनियोजन विधेयक पेश भएपछि पनि बजेट थप्ने–घटाउने काम भइरहेको भन्ने चर्चा छ। त्यो केवल हल्ला मात्रै साबित होस्,’ उनले भने।
उनले बजेट पारित प्रक्रियापछि पनि बजेट बाँडफाँटमा हेरफेर हुने अवस्था आए त्यसलाई सुशासन मान्न नसकिने चेतावनी दिए।