प्रदेश सरकारहरूको नयाँ बजेट आज सार्वजनिक हुँदै

प्रदेश सरकारहरूको नयाँ बजेट आज सार्वजनिक हुँदै

काठमाडौँ । देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूले प्रदेशसभा बैठकमार्फत आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने तयारी गरेका छन्।

अघिल्ला वर्षहरूमा ल्याइएका महत्वाकांक्षी बजेटहरूको कार्यान्वयन सन्तोषजनक हुन नसकेको निष्कर्षपछि यसपटक प्रदेशहरूले व्यावहारिक र कार्यान्वयनयोग्य बजेटमा जोड दिएका छन्। संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। प्रदेशसभाबाट नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याइने प्रचलन रहेको छ।

निर्धारित कार्यतालिकाअनुसार मधेश प्रदेश सरकारले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ भने कर्णाली प्रदेश ले दिउँसो ३ बजे बजेट सार्वजनिक गर्नेछ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेश सरकारले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरेका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले साँझ ५ बजे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन्।

प्रदेश सरकारहरूले पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ।