

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक, २०८३ माथिको विस्तृत छलफल सुरु हुने कार्यसूची रहेको छ। सचिवालयका अनुसार विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूलाई समूहीकृत गरेर छलफल गरिनेछ।
आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।
यस्तै, राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल हुने कार्यसूची तय गरिएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रियसभा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।