

-एम . अर्याल-
काठमाडौं । हाम्रो पूर्विय वैदिक सनातन संस्कृतिमा एकादशीको ठूलो महत्व छ । एकादशी भगवान श्री राधाकृष्णको पर्याय मानिन्छ । उक्त कुरा प्रशासक तथा प्राध्यापक कुल प्रसाद पराजुलीले कोटेश्वर महादेवस्थान व्यवस्थापन समाजद्वारा आयोजित परमा एकादशी तथा पुरुषोत्तम महात्म्य वाचन कार्यक्रममा व्यास आसनबाट वताउनु भएको हो । प्राचीन कालमा काशीमा सुमेध नामक ब्राम्हण धर्मपत्नी पवित्राका साथमा चरम दरिद्रताका साथ जीवन विताईरहेका थिए ।
गरिवी दरिद्रता भए पनि उनीहरु धर्म र भक्तिपथमा अविचलित रुपमा लागिरहेका थिए । एक दिन उनीहरुको आश्रममा कौडिन्य ऋषि आए । सुमेध पवित्रा दम्पत्तिले ऋषिको यथासम्भव सेवा सत्कार गरे । ऋषि प्रशन्न भएर दम्पतिलाई परमा एकादशीको व्रत गर्ने उपदेश दिए । सुमेत्र पवित्राले लिएको उक्त व्रतबाट भगवान श्रीविष्णु प्रशन्न हुनुभयो , सुमेध पवित्रा दम्पतिको दरिद्रता अन्त भई जीवनमा धर्म ,मोक्ष र भक्ति प्राप्त भयो ।
यो देह उसको वसने घरै हो
यो दुख भोग्ने परमेश्वरै हो
यो देह भत्कंदा दुख अवश्य लाग्दछ
सुटुक्क सामान लिएर जान्छ ।
सोही कार्यक्रममा हरेक मानवको मरणशीलता निश्चित रहेको तथ्य प्रष्टाउने पुरुषोत्तम महात्म्य आरम्भ भयो । मानिसको आक्रमणबाट पनि नमरु ,जनावरको आक्रमणबाट पनि नमरु, दिनमा पनि होइन रातमा पनि होइन ,जमीनमा पनि होईन ,आकाशमा पनि होईन ,हातले पनि होईन हतियारले पनि होईन , १२ महिनामा पनि नमरु भन्ने वरदान भगवानबाट प्राप्त गरेको हिरण्ण्कशिपुलाई भगवानले नरसिंहावतार लिई, सांझमा ,काखमा राखेर , नंग्राले चिथोरेर अधिक मासमा मारिदिनुभयो ।
कोटेश्वर महादेवस्थान व्यवस्थापन समाजको आयोजनामा आयोजित उक्त कार्यक्रमलाई तीनवटा संयोग जुरेको थियो पुरुषोत्तम मास, गुरु वृहस्पतिको कृपाप्राप्त गुरुबार र पुरुषोत्तम मास । आउन नन्दलाल आउन नन्दलाल ,मुरली बजाउंदै आउन नन्दलाल ……… कोटेश्वर महादेवस्थान मन्दिरका प्रमुख सेवक लक्ष्मण पाण्डेको सुमधुर भजनबाट आरम्भ भएको कार्यक्रममा अन्तसम्म करिव पांँच सय साधक व्रतालुहरुको उपस्थिति थियो ।