काममा ढिलाइ भएपछि मन्त्री लम्साल आक्रोशित, ठेकेदारबारे दिए कडा निर्देशन

काममा ढिलाइ भएपछि मन्त्री लम्साल आक्रोशित, ठेकेदारबारे दिए कडा निर्देशन

काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नागढुंगा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा दिएको एक अभिव्यक्तिलाई लिएर चर्चा सुरु भएको छ। उनले काममा ढिलाइ गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै ‘खुट्टा भाँचिदिनुस्’ भन्ने टिप्पणी गरेका हुन्।

आइतबार आयोजना क्षेत्रको निरीक्षणका क्रममा मन्त्री लम्सालले वर्षायाम सुरु भइसकेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए। उनले काममा लापरबाही वा अनावश्यक ढिलासुस्ती स्वीकार्य नहुने चेतावनीसमेत दिए।

अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनिधिहरूले विद्युत्का पोल नसारिँदा काम प्रभावित भएको गुनासो गरेका थिए। त्यसक्रममा मन्त्री लम्सालले पोल सार्ने जिम्मेवारी पाएको ठेकेदारलाई तत्काल उपस्थित गराउन निर्देशन दिँदै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए।

उनले भने, “विद्युत्को पोल सार्ने ठेकेदार जहाँ भए पनि यहाँ ल्याउनुस्। काम नगरे खुट्टा भाँचिदिनुस् भन्ने अवस्था आएको छ। चाँडोभन्दा चाँडो पोल सार्नुपर्छ, यहाँका नागरिकले धेरै सास्ती भोगेका छन्।”

मन्त्री लम्सालले आयोजनालाई प्रभावित गर्ने समस्या तत्काल समाधान गर्न र आवश्यक निर्माण सामग्रीको व्यवस्थापनमा सहजीकरण गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

करिब ९५ किलोमिटर लम्बाइको नागढुंगा–मुग्लिन सडकखण्ड तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ। नागढुंगा–नौबिसे, नौबिसे–मलेखु र मलेखु–मुग्लिन गरी तीन खण्डमा सडक विस्तारको काम अघि बढाइएको छ।

यसअघि पनि मन्त्री लम्सालको निर्देशनमा नौबिसे–मुग्लिन सडक आयोजनामा कार्यरत निर्माण व्यवसायी रमेश शर्मालाई सिंहदरबारमा बोलाइएको घटना चर्चामा आएको थियो। निर्माणमा देखिएका अवरोधबारे जानकारी गराएपछि मन्त्रालयका सचिवले माफी माग्दै उनलाई फर्काएको बताइएको थियो।