परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने भ्रमणका लागि चीन पुगे, लगानी सम्मेलनमा सहभागी हुने

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने भ्रमणका लागि चीन पुगे, लगानी सम्मेलनमा सहभागी हुने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चारदिने भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति चीनतर्फ प्रस्थान गरेका थिए ।बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आज अपराह्न चीन पुगेका हुन् । विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह आयोजना गर्ने जनाएको छ । सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्य विस्तारबारे द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका अन्य उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यसहित बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन् । सो अवसरमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीसँग समेत छलफल गर्नेछन् । मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।