

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतक संख्या ८ पुगेको हो।
उनका अनुसार मृतकमध्ये ४ पुरुष र ४ महिला रहेका छन्। हालसम्म कसैको पनि पहिचान खुल्न सकेको छैन।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।