

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा बागमती प्रदेश सभापतिका प्रत्याशी डा. अच्युतम लामिछानेले स्थगित भएको बागमती प्रदेश अधिवेशन आगामी शनिबारदेखि पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले समय व्यवस्थापन र केही प्राविधिक समस्याका कारण अधिवेशन रोक्नुपरेको स्पष्ट पारे। उनका अनुसार इलेक्ट्रोनिक भोटिङ प्रणालीमार्फत निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको छ।
“सम्भवतः शनिबार दिउँसो १२–१ बजेदेखि अधिवेशन सञ्चालन गर्न सकिन्छ। हामीले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्दैछौँ। यसअघि कागजी प्रक्रिया, रातिको समय र अनुभवको कमीका कारण कार्यक्रम स्थगित गर्नुपरेको थियो,” उनले भने।
लामिछानेका अनुसार उद्घाटन सत्र, बन्द सत्र तथा मतदानलगायत सबै प्रक्रिया एकै दिन सम्पन्न गर्ने प्रयास गर्दा समय व्यवस्थापनमा कठिनाइ भएको थियो। पहिलो प्रदेश अधिवेशन भएकाले निर्वाचन समितिको अनुभव कम हुनु र सबै प्रक्रिया छोटो समयमा टुङ्ग्याउनुपर्ने दबाबले केही व्यवस्थापकीय तथा प्राविधिक कमजोरी देखिएको उनले बताए।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेको विषयमा प्रतिक्रिया दिँदै उनले रास्वपाले सहमतिभन्दा पनि लोकतान्त्रिक प्रतिस्पर्धामार्फत नेतृत्व चयनलाई प्राथमिकता दिएको बताए।
“पार्टीले प्रक्रियामार्फत नेतृत्व छनोट गर्ने अभ्यासलाई महत्व दिएको छ। आन्तरिक प्रतिस्पर्धाबाट आएको नतिजा सबैले स्वीकार गर्नुपर्छ, यसले पार्टीलाई अझ बलियो बनाउँछ,” उनले भने।
रास्वपाको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने तयारी छ।