प्रदर्शनीमार्गमा आन्दोलन र राजनीतिक सभा नगर्न सर्वोच्चको आदेश

प्रदर्शनीमार्गमा आन्दोलन र राजनीतिक सभा नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रदर्शनीमार्ग क्षेत्रमा सार्वजनिक आवागमन, शैक्षिक गतिविधि र स्वास्थ्य सेवामा असर पर्ने गरी सभा, जुलुस, आन्दोलन, नाराजुलुस तथा प्रदर्शनका कार्यक्रम नगर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले पठनपाठनमा अवरोध हुने भन्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले २०८२ पुस २३ गते उक्त आदेश दिएको थियो। सो फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरिएको हो।

अदालतले प्रदर्शनीमार्ग आसपासका शैक्षिक संस्था तथा स्वास्थ्य सेवा केन्द्रहरूमा ध्वनि र वायु प्रदूषणका कारण प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। अन्य स्थानमा पनि कार्यक्रम आयोजना गर्दा विद्यालय, क्याम्पस र अस्पताल प्रभावित नहुने गरी आवश्यक सावधानी अपनाउनुपर्ने आदेशमा उल्लेख छ।

प्रदर्शनीमार्ग क्षेत्रमा नेपाल भाषा क्याम्पस, नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, वाल्मीकि क्याम्पसलगायत शैक्षिक संस्था तथा पद्मोदय माध्यमिक विद्यालय रहेका छन्। त्यस्तै काठमाडौं मोडेल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र पनि सोही क्षेत्रमा सञ्चालनमा छन्।

नियमित रूपमा हुने सभा, जुलुस, प्रदर्शन तथा आन्दोलनका कारण पठनपाठन र स्वास्थ्य सेवा प्रभावित हुने निष्कर्षसहित सर्वोच्च अदालतले त्यस्ता गतिविधिमा रोक लगाउने आदेश जारी गरेको हो।

अदालतले समाजकल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सामाजिक, शैक्षिक, सांस्कृतिक, बौद्धिक, व्यावसायिक तथा पुरातात्त्विक प्रकृतिका कार्यक्रम र प्रदर्शनी मात्र सञ्चालन गर्न अनुमति दिनुपर्ने उल्लेख गरेको छ।

साथै राजनीतिक सभा, सम्मेलन, प्रदर्शन तथा नाराजुलुसका लागि उक्त प्रदर्शनीस्थल भाडामा नदिन पनि समाजकल्याण परिषद्लाई निर्देशन दिएको छ। यसअघि भृकुटीमण्डपमा विभिन्न राजनीतिक दल तथा समूहका कार्यक्रम आयोजना हुँदै आएका थिए।