

काठमाडाैं । नेपाल सरकारको शासकीय सुधार सम्वन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रवन्ध (Delivery-Based Governance) लागु गर्न, नागरिकलाई छिटो सहज तथा पूर्वानुमानयोग्य समय (Predictable Time) मा उपलब्ध गराउन तथा सेवा प्रक्रियालाई मुहार विहिन, समयबद्ध (Faceless, time-bound) तथा डिजीटल प्रणालीमा रुपान्तरण गर्ने लक्ष्य अनुरुप राष्ट्रिय वाणिज्य बैंकले अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का / फुकुवा गर्ने कार्य कार्यान्वयन शुरु गरिसकेको छ । बैंकले हालसम्म ८०० वटा भन्दा बढी धितो बन्धक रोक्का / फुकुवा सोही प्रणाली मार्फत गरिसकेको छ । यस अघि अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का / फुकुवा गर्ने सम्बन्धमा नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच समझदारी भएको थियो ।
धितोको जग्गा रोक्का तथा फुकुवा अनलाइनमार्फत गर्दा प्रक्रिया छिटोछरितो, पारदर्शी एवं सहज हुनुका साथै समय र खर्च बचत एवं ग्राहक सन्तुष्टी अभिवृद्धी हुने अपेक्षा गरिएको छ । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१५ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।